दफा
आयोगको गठन
(१) खानेपानी तथा सरसफाई सेवाको महसुल निर्धारण गरी मनासिब मूल्यमा गुणस्तरीय र भरपर्दो खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराई उपभोक्ताको हित संरक्षण गर्न एउटा खानेपानी महसुल निर्धारण आयोगको गठन गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको आयोगमा देहायका सदस्यहरु रहनेछन् ः–
(क) मान्यताप्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिङ्ग, व्यवस्थापन, अर्थशास्त्र वा वित्तीय व्यवस्थापनमा कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी लिई कम्तीमा बाह्र वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्ति गरेको व्यक्ति– अध्यक्ष
(ख) मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वित्तीय व्यवस्थापन वा विश्लेषण, चाटर्ड एकाउण्टेन्सी वा वाणिज्य शास्त्रमा कम्तीमा स्नातक उपाधि हासिल गरी आर्थिक मूल्याङ्कन, लेखा वा वित्तीय विश्लेषण सम्बन्धी काममा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्ति गरेको एकजना– सदस्य
(ग) मान्यताप्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिङ्ग, समाजशास्त्र वा कानून विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेका महिला, दलित र जनजातिमध्येबाट नेपाल सरकारले नियुक्त गरेको एकजना–सदस्य
(३) अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ र निजहरु अर्को एक अवधिको लागि पुन नियुक्त हुन सक्नेछन् ।
(४) सदस्यले आफ्नो कार्यभार सम्हाल्नुअघि अनुसूचीमा उल्लेख भए बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।
(५) अध्यक्षले आयोगको कुनै अधिकृत कर्मचारीलाई आयोगको सचिव भई काम गर्न तोक्नेछ ।
(६) अध्यक्ष वा सदस्यलाई निजको पदावधि समाप्त हुनु अगावै निजको पदबाट हटाइने छैन ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष वा सदस्यले पदीय जिम्मेवारी पूरा नगरेमा वा इमान्दारीपूर्वक काम नगरेमा वा निज खराब आचरणमा लागेको, शारीरिक वा मानसिक रुपमा अक्षम भएको वा सेवा प्रदायकसँग निजको आर्थिक स्वार्थ रहेको कुरा प्रमाणित भएमा वा निजले फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएमा निजलाई अध्यक्ष वा सदस्यको पदबाट जुनसुकै बखत हटाउन सकिनेछ ।
(८) देहायका कुनै पनि व्यक्ति अध्यक्ष वा सदस्यको पदमा नियुक्त हुन वा पदमा बहाल रहन सक्ने छैन ः–
(क) नेपाल सरकारको बहालवाला कर्मचारी,
(ख) राजनैतिक दलका पदाधिकारी,
(ग) सेवा प्रदायक वा सेवा प्रदायकसँग सम्बन्धित कुनै संस्थामा कार्यरत वा त्यस्तो संस्थामा लगानी भएको वा त्यसमा कुनै किसिमको व्यक्तिगत स्वार्थ रहेको व्यक्ति,
(घ) उपदफा (२) बमोजिमको योग्यता तथा अनुभव नभएको व्यक्ति, र
(ङ) पैंसठ्ठी वर्ष उमेर पूरा भएको व्यक्ति ।